ताजा समाचार

खुमलटार भेलाको निष्कर्ष- विचार तय नभइ महाधिवेशन असम्भव !

काठमाडौं । नेकपाका पूर्वमाओवादी केन्द्र तर्फका स्थायी कमिटी सदस्यहरूले विचार तय नभइ एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई आइतबार खुमलटार बोलाएर छलफल-परामर्श गरेका थिए । भेलामा लेखराज भट्टबाहेक पूर्वमाओवादी केन्द्र समूहका सबै स्थायी कमिटी सदस्य उपस्थित थिए । उनीहरूले पार्टी एकता बचाउन र अहिले देखिएको गतिरोधको निकास पहिलो वरीयताको अध्यक्ष भएकाले केपी ओलीले नै दिनुपर्ने निकालेका छन् ।

“पार्टी अध्यक्ष, प्रधानमन्त्री भएकाले केपी ओलीले नै निकासका लागि पहल गर्नुपर्छ । भूमिका खेल्नुपर्छ । प्रचण्डको भूमिका पनि आउला,” भेलामा सहभागी स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, “छिटोभन्दा छिटो बैठक टुंग्याएर समस्या समाधानतिर अघि बढ्नुपर्छ ।”

आज प्रचण्डले सुझाव माग्‍न खुमलटार (निवास) बोलाएका थिए । भेलामा सहभागी अधिकांशले एकता बचाउने, विकास गर्ने, निष्कर्षमा पुर्‍याउने मुख्य दायित्व ओलीकै भएको बताएको गजुरेलले बताए । सदस्यहरूले वैचारिक कार्यदिशा तय नभइ महाधिवेशनमा जानुको औचित्य नरहेको बताएको उनको भनाइ थियो ।

“पूर्वएमाले जनताको बहुदलीय जनवादमा अडिने, पूर्वमाओवादी एक्काइसौं शताब्दीको जनवादतिर अडिने हो भने पछाडि फर्कने कुरा हुन्छ । एकता अगाडि बढ्नका लागि हुन्छ । अहिलेको सन्दर्भमा ती पुराना विचार हुन् । अहिलेको यथार्थलाई आत्मसात् गरेर समाजवादको आधार तयार गर्न नयाँ कार्यदिशा तय गर्नुपर्ने हुन्छ । त्यसबारे बहसै सुरु भएको छैन । मङ्सिरमा महाधिवेशन सम्भव छैन । हामीले चैतमा गर्ने भनेकै छैनौ । वर सार्ने हो भने पहिले विचार टुङ्ग्याउँ भनेर हामीले सुझाव दियौं,” गजुरेलले भने ।

उनले जारी स्थायी कमिटी (असार १० गतदेखि सुरु भएको र भोलिसम्मका लागि स्थगित भएको) बैठक छिटो सक्न सुझाव दिएको बताए । बाढी, पहिरोको प्रक्रोप बढेको, उद्धार, राहतको काममा कार्यकर्ता परिचालन गर्नुपर्ने बेलामा सधैँ बैठकमा अल्झिएर बस्‍न नहुने विचार अधिकांशले राखेको पनि गजुरेलको भनाइ छ ।

“हामीले बैठक छिटो सक्न भनेका छौं । दुई अध्यक्षले पार्टी एकतालाई बचाउन र सुदृढ तुल्याउन भूमिका खेल्नुहोस् भनेर पनि सुझाव दिएका छौं,” उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org