ताजा समाचार

विज्ञहरु भन्छनः लकडाउन खुल्यो तर कोरोनाको जोखिम बढ्यो, सचेत बनौं

काठमाडौं । सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको १२० दिन लामो लकडाउन बुधबारबाट खोलेको छ ।

तर लकडाउन खुले पनि कोरोनाभाइरसको संक्रमण भने कायम नै रहेको हुँदा सचेत बन्न जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. समिरमणी दीक्षितले सरकारले एकैपटक बिनासूचना लकडाउन खोल्दा अब नेपालमा कोरोनाभाइरसको संक्रमण छैन भन्ने भ्रम पर्ने देखिएको बताए ।

उनी भन्छन्, “सरकारले केहीदिन अघि नै लकडाउन खोल्ने हामीले योजना बनाएका छौँ, तर संक्रमण जोखिम कायमै छ, जनजिवन सहज बनाउन र अर्थतन्त्रलाई बढाउन मात्र लकडाउन खोलेका हौँ । हामीले जनताको सुरक्षाका लागि स्यानिटाइजर विभिन्न स्थानमा राखेका छौँ, हात धुने ठाउँको व्यवस्था गरेका गरेका छौँ । मास्क अनिवार्य लगाइदिनूहोला भनेर जानकारी दिनुपर्थ्यो तर त्यो भएन सीधै बन्द खुलेकोजसरी सूचना आयो ।”

उनका अनुसार सरकारले लकडाउन हचुवा तरिकाले बिना योजना खोलेको देखिन्छ  । लकडाउन खुलेपछि परीक्षण तीनदेखि चार गुणा बढाउनुपर्ने उनले बताए । सार्वजनिक सवारीसाधन चल्न थालेको हुँदा संक्रमण अझ बढ्न सक्ने उनको भनाइ छ ।

कोरोनाबाट बच्न मास्क अनिवार्य लगाउने र दुरी सकेसम्म कायम गर्ने, सार्वजनिक सवारी साधनमा भीडभाड भए नचढ्न उनको सुझाव छ ।

उनले भने, “स्यानिटाइजर अनिवार्य बोकेर हिडौँ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पूर्णरुपमा लकडाउन खुलेपछि मानिसमा अब कोरोना छैन भनेर भ्रममा पर्न नहुने बताए ।  उनले भने “मानिसहरुको भीडभाड बढ्ने अब मासु पसल, कपाल काट्ने स्थानमा भीडभाड बढ्न सक्ने हुँदा बच्ने उपाय अवलम्बन गरेनौँ भने अझ जोखिम बढ्ने देखिन्छ ।”
संक्रमितको संख्या कम हुँदैमा, संक्रमितको संख्या हराएको होइन भन्ने बुझ्न जरुरी रहेको उनले जानकारी दिए ।

उनले भने, “कोरोनाबाट बच्न अब अझ बढी सर्तकता अपनाउनुपर्ने देखिएको छ ।”

त्यसैगरी जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले सरकारले समुदायमा कोरोनासंक्रमण कतिमा फैलिएको छ भनेर कुनै अध्ययन नगरी लकडाउन खोलेको बताउँछन् ।

उनका अनुसार सरकारले कोरोना परीक्षण काठमाडौका नौवटा खोलाका सुकुम्बासी बस्तीहरुमा, फोहोर संकलन र व्यवस्थापन गर्ने (सफाइ कर्मचारी),कवाडी संकलन गर्ने व्यक्तिहरु, भरियाहरु, साँघुरा गल्लीहरुमा (जहाँ दुरी कायम गर्न सम्भव हुँदैन) रहेका खाजा पसल, चिया पसल, अस्पतालका सफाइ कर्मचारीहरु, तरकारी बजार, फलफुल पसलहरुमा परीक्षण गरेमा मात्र काठमाडौंमा कोरोनाको अवस्था पत्ता लगाउनुपर्ने भए पनि त्यसो हुन सकेन ।

काठमाडौंमा ४० लाख जनसंख्या रहेको मानिए त्यसको दुई प्रतिशत ८० हजारको पीसीआर परीक्षण गरे मात्र कोरोनाको अवस्था थाहा हुने उनले जानकारी दिए  ।  तर सरकारले चार हजार ८ सयको पीसीआर परीक्षण गरेको र त्यो पनि बैंक, मालपोत कार्यलयमा मात्र गरेको उनको टिप्पणी छ ।

सरकारले संवेदनशील स्थानहरुमा परीक्षण नगरेको उनको भनाइ छ ।

उनले भने, “भारतसँग सीमा जोडिएका जिल्लाका दुई प्रतिशतका दरले परीक्षण गर्नुपर्थ्यो । अर्को धेरै संक्रमित भेटिएका गाउँहरुमा अन्यमा कोरोना सरेको छ कि छैन भनेर हेर्न समुदायमा कोरोना परीक्षण गर्नुपर्थ्यो तर गरिएन ।” हचुवाको भरमा लकडाउनको अन्त्य गरिएको भोलीका दिनमा महामारीको आउने खतरा कायम रहेको उनले जानकारी दिए ।

उनका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढेको बढैछ, भारतमा असोजको अन्त्यमा (पिकमा) उच्च विन्दुमा पुग्ने भनिएको छ । भारतमा कोरोना नियन्त्रण मंसिरसम्ममा मात्र हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएको उनले बताए ।

“भारतका अस्पतालहरु कोराना संक्रमितहरुले पूरै भरिएका छन्,” उनले भने, “भोलि जहाज खोलेपछि भारतबाट उपचारका लागि नेपाल आउने, नेपाल सुरक्षित रहेको छ भनेर बच्नका लागि आउने बढ्ने देखिन्छ ।”

उनका अनुसार एक अध्ययनले जाडो महिना कोरोनाभाइरस दोस्रो चरणमा फैलनेसक्ने देखाएको छ ।  जाडो सुरु हुँदा रुघाखोकी लाग्छ । त्यसमा कोरोनाभाइरस मिसिएमा सोचेकोभन्दा जटिल समस्या निम्तने भनेर बेलायत, अमेरिका, चीन, कोरिया लगायतका मुलुक बढी सतर्क छन् ।

भारतसँगको सीमा क्षेत्रमा चौविसै घण्टा गस्ती गर्नुपर्ने उनको सुझाव छ ।  उनले भने,“कोरोना केही पनि होइन । मृत्युदर एकदमै कम छ तर लापर्वाही गर्नुहुँदैन ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org