ताजा समाचार

मेलम्ची पहिरो : ३ जनाको शव भेटियो

काठमाडाैँ । मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनामध्ये ३ जनाको शव भेटिएको छ ।

सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका भएको बुझिएको प्रहरीले बताएको छ । पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org