ताजा समाचार

नेकपा सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको छ।

रिक्त रहेका संवैधानिक आयोगमा नियुक्ति तथा पार्टीभित्रको समसामयिक बिषयमा छलफल गर्नका लागि ओली र दाहालबीच भेटवार्ता भएको हो।  आजको भेटवार्ताले शुक्रबारका लागि सचिवालय बैठक बस्ने निर्णय गरेको स्रोतले बताएको छ। पार्टी एकपछि पहिलोपटक पेरिस डाँडामा सचिवालय बस्‍ने सहमति बनेको छ।

पार्टी एकताको दुई वर्ष बितिसक्दा पनि पेरिस डाँडामा हालसम्म सचिवालयको बैठक बसेको छैन। ​ ओली-दाहाल भेटवार्ताका क्रममा स्थायी कमिटीको बैठकले गरेको निर्णय कार्यान्वयन लगायत समसामयिक बिषयमा छलफल भएको बुझिएको छ।

यस्तै संवैधानिक आयोग र विश्‍वविद्यालयमा नियुक्तिलाई लिएर ओली-दाहालले बिहीबार प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर ठेउवासँग छलफल गर्ने भएका छन्। संवैधानिक नियुक्ति लगायत बिषयमा प्रतिपक्षी दलका प्रमुखसँग छलफल हुन लागेको हो। नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सकिएपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरेका छन्। उनीहरुले सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा आज पनि भेटवार्ता भएको जानकारी दिए।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्‍न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त छन्। यो स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org