ताजा समाचार

काठमाडौंको तापक्रम यस वर्षकै कम, चिसो बढेसँगै तराईको जनजीवन कष्‍टकर

काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ।

यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री थियो। तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महशुस गरिएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ। यसअघि सोमबार भने काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव शून्य डिग्री मापन भएको थियो।

मौसमविद् समीर श्रेष्ठका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ। “अबको केही दिन तापक्रम घटबढ भइरहनेछ”, श्रेष्ठले भने,“मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ।”

पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिरोले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री र अधिकतम तापक्रम १९ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव १ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org