ताजा समाचार

नेकपा विवादले देश संकटमा पर्‍योः महामन्त्री सिंह

काठमाडाैँ। नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेकपा विवादले देश संकटमा परेको जनाएका छन् ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै सिंहले नेकपामा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् ।

सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्म निरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने बताए । उनले भने, ‘नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्यो ।’ यस्तो बेला विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउने बताउँदै धर्म निरपेक्षता हटाउन र  एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनले बताए ।

सिंहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप लगाए । ‘छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्’ उनले भने । महामन्त्री सिंहले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत गरे । सो पार्टीले सङ्घीय सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org