ताजा समाचार

खानेपानी मन्त्री मेलम्चीमा, सुरूङ परीक्षणको सुरू (फोटोफिचर)

काठमाडाैँ । मेलम्ची खानेपानीको सुरूङ परीक्षण गरिएको छ।

सुरूङमा आज पानी राखेर परीक्षण सुरू गरिएको हो।

प्रतिसेकेन्ड २६० लिटरका दरले सुरूङमा पानी प्रवाह गरिएको आयोजनाले जानकारी दिएको छ। सुरूङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ। परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ।

सोमबार सुरूङ स्थलमा पुगेर खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरूङ परीक्षणको सुरू गरेका हुन्।

उक्त कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी थिए।

आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण पनि गरिसकेको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध गराउने तयारी छ।

सुरूङमा पानी राखिएकोले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरु साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ।

गत असारमा पनि सुरूङमा पानी राखेर परीक्षण गरिएको थियो। त्यसबेला दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। पहिलेका संरचनाहरूको पुनरावलोकन गरी सबै गेटहरू जडान गरेर आज पानी राख्न सुरू गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org