ताजा समाचार

मेलम्चीको पानी सुन्दरीजलको प्रशोधन केन्द्रमा झारिँदै, प्रधानमन्त्रीले अवलोकन गर्ने

काठमाडौँ।  १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा झारिने भएको छ ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो ।

परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।

परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

परीक्षणका क्रममा सुन्दरीजलमा आइपुग्ने पानीको प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो अवलोकन गर्ने तयारी भएको समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org