ताजा समाचार

राष्ट्रपति भण्डारीद्वारा बंगबन्धु स्मृति संग्रहालय अवलोकन

काठमाडाैँ । बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानका स्मृतिमा स्थानीय धनमन्दीमा निर्मित बंगबन्धु स्मृति संग्रहालयको अवलोकन गरेकी छन्।

बंगलादेश स्वतन्त्रता आन्दोलनका अग्रणी बंगबन्धुलाई हत्या गरिएको घरसमेतलाई संग्रहालय बनाइएको छ।

बंगलादेशका पहिलो राष्ट्रपति र पछि सन् १९७१ मा प्रधानमन्त्री भएका मुजिबरको १९७५ अगष्ट १५ मा हत्या गरिएको थियो। राष्ट्रपति भण्डारीले त्यहाँस्थित बंगबन्धुका शालिकमा श्रद्धाञ्जली व्यक्त गर्नाका साथै संग्रहालयद्वारा निर्मित भिडियो वृत्तचित्र अवलोकन गरेकी थिइन्। उनले संग्रहालयको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरिन्।

उक्त अवसरमा भ्रमण दलमा सहभागी परराष्ट्रमन्त्री ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलगायत थिए।

राष्ट्रपति भण्डारी बंगलादेशका लागि नेपाली राजदूतावासले अपराह्न आयोजना गर्ने स्वागत समारोहमा सरीक भई आजै स्वादेश फर्किने छन्। बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी हुन्। राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बंगबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org