ताजा समाचार

काठमाडाैँसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढ्याे

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ।

प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दाे क्रममा रहेकाे वातावरण विभागले जनाएकाे छ।

विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ।

विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले भने, ‘पर्याप्त पानी नपर्दा वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । यसै पनि हाम्रो वायुको गुणस्तर कमजोर नै छ त्यसमाथि हाल थप खराब भएको छ।’

स्थानीय कारकहरु नै हालको वायु प्रदूषणका लागि बढि मात्रामा जिम्मेवार रहेको उनले बताए। विभागका उपमहानिर्देशकसमेत रहेका जोशीले भने, ‘हावा राम्रोसँग चल्न सकेको छैन । औद्योगिक गतिविधिहरु भएका छन्। सवारी चाप बढि छ। वनहरुमा डढेलो लागेको छ। यी सबैको प्रभाव वायुको गुणस्तरमा परेको हो।’

मौसमविद् शान्ति कँडेलका अनुसार वायु प्रदूषण बढ्नुमा पश्चिमी वायुको मौसमी गतिविधि पनि कारक रहेको छ।

मौसमविद् कँडेलले भनिन्, ‘अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ। तर सो वायु पानी पर्ने गरि सक्रिय छैन। बदली गराउने तथा नेपाल बाहिरबाट धुलोका कणसहित वायु प्रदूषण गराउने तत्वहरु भने पश्चिमी वायु ल्याइरहेको छ।’

तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरि पानी पर्ने वा त्यसलाई बढार्ने गरि हावा चल्ने सम्भावना नदेखिएको उनले बताइन्।

उनले भनिन्, ‘पानी परेको छैन, तर बदली भएको छ। हावा आइरहेको छ। मौसम धुम्मिएको छ। धुलोका कणहरु पनि आएका छन्। तत्काललाई वर्षा भएर सफा गर्ने खालको मौसमी प्रणाली छैन।’

यो वर्ष मार्च महिना (२४ सम्म) मा काठमाडौँ उपत्यकामा मात्रै ६.६ मिलिमिटर पानी परेको छ। मार्च महिनाको औषत वर्षा ३४.२ मिलिलिटर हो। यो वर्ष प्रि–मनसुनी गितिविधि विगतका वर्षमा जस्तो सक्रिय नहुँदा निकै कम पानी परेको उनले बताइन्।

नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ। बुधबार बिहान सिमराको एक्यूआई ३०५ मापन भएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org