ताजा समाचार

अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ ।  सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार (वैशाख १९ गते) को निर्णय अनुसार राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरिएको एक मन्त्रीले  जानकारी दिए ।

दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।

तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।

नेकपालाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ल्याएर एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच विवाद बढिरहँदा राजदूत दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।फरक राजनीतिक पृष्ठभूमि र सिफारिसमा नियुक्ति पाएका भए पनि जापानस्थित राजदूत राणा (राप्रपा) र ओमानस्थित ढकाल (तत्कालीन फोरम लोकतान्त्रिक)को म्याद थप गरिएको छ । परराष्ट्र मन्त्रालयले ‘कार्यसम्पादन मूल्यांकन’ आधारमा राजदूत नियुक्ति वा हेरफेर गर्न सक्ने भन्दै आए पनि अहिलेसम्म यो मूल्यांकनको आधार कहीँकतै देखिएको छैन ।

यीबाहेक म्यानमारस्थित राजदूत भीम उदास(कांग्रेस), साउदी अरेबियास्थित राजदूत महेन्द्रप्रसाद सिंह राजपूत(माओवादी), बहराइनस्थित राजदूत पदम सुन्दास(माओवादी)को सिफारिसमा गएका हुन्, उनीहरुको कार्यकाल पूरा भइसकेको आधारमा यिनका बारेमा भने केही निर्णय बाहिर आएको छैन ।

‘राजनीतिमा जस्तै कुटनीतिमा पनि प्रतिशोधको व्यवहार देखा पर्न थालेको छ,’अमेरिकाका लागि एक पूर्वराजदूतले भने, ‘यता सरकारी खेमाविरुद्धको माओवादी पक्षका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिएकै दिन माओवादीको सिफारिसका एक राजदूतलाई असमय र अकारण फिर्ता बोलाइएको देखिन्छ । यो आफैंमा लज्जाको विषय हो ।’ राजदूत दाहालले आफूलाई फिर्ता गर्नेबारेको सरकारको निर्णयबारे आफू जानकार नरहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org