ताजा समाचार

विपक्षी गठबन्धनको बैठक स्थगित, देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकार दावी गर्नका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले डाकेको विपक्षी दलको बैठक स्थगित भएको छ । दिउँसो २ बजे बस्ने भनिएको विपक्षी गठबन्धनको बैठक अचानक स्थगित भएको हो ।

दलहरूबीच आन्तरिक छलफलपछि बैठक बस्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । देउवाले आजै दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । अरु दलले पनि आन्तरिक छलफल गर्ने र त्यसपछि आजै वा भोलि गठबन्धनको बैठक बस्ने लेखकले  बताए ।

जसपा अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा पार्टी संलग्न नहुने वक्तव्य दिइसकेको र राष्ट्रपतिलाई लिखित जानकारी गराउने कुरा आएपछि देउवाले आन्तरिक छलफल गर्न लागेको बताइन्छ ।

कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षबीच अनौपचारिक छलफलहरू चलिरहे पनि औपचारिक बैठक त्यसपछि मात्र बस्ने भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org