ताजा समाचार

देउवाले बोलाए विपक्षी दलका शिर्ष नेतालाई बुढानिलकण्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा अन्य विपक्षी दलहरुसँग आज छलफल गर्दै छन्।

दिउँसो आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले माओवादी केन्द्र र जसपाका शिर्ष नेतालाई छलफलका लागि बोलाएको पार्टी सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए। उनका अनुसार बैठक बस्ने भनिएपनि समय भने तय भइसकेको छैन।

यसअघि देउवाले हिजो नै यो बैठक आह्वान गरेपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र छलफल नै नगरी सरकार गठनका सन्दर्भमा सर्वदलीय बैठक बोलाएको भन्दै आपत्ती जनाएपछि बैठक स्थगित भएको थियो।

पौडेलको विरोधपछि सभापति देउवाले आफ्नै पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर सल्लाह लिएपछि मात्रै आज सर्वदलीय बैठक आह्वान गरेकाे सह–महामन्त्री महतले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत गुमाएपछि बहुमतको नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिसम्मको समय दिएपछि आज दिनभर कांग्रेस, माओवादी केन्द्र र जसपा नयाँ सरकार गठनको कसरतमा थप सक्रिय हुँदैछन्।

माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह भने तयार भइसकेको छैन।  जसपाका सबै सांसदहरु नयाँ सरकार गठनको पक्षमा नउभिए विपक्षी गठबन्धनलाई सत्तामा जान बहुमत पुग्ने देखिएको छैन। नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि नयाँ सरकार गठनका लागि निर्णायक मानिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org