ताजा समाचार

चिनियाँ राष्ट्रपति चिनफिङसँगको अन्तरर्क्रियामा ओली, देउवा, प्रचण्ड, नेपाल र भट्टराई सहभागी हुँदै

काठमाडौँ । चिनियाँ राष्ट्रपति सि चिनफिङ मुख्य वक्ता रहेको ‘विश्‍वका राजनीतिक दल सम्मेलन’ मा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । मंगलबार (भोलि) साँझ साढे पाँच बजे उक्त सम्मेलनमा नेपालका नेताहरू सहभागी हुने जानकारी दिइएको छ ।

एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी इतरका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी हुनेछन् । कम्युनिस्ट नेताहरूकै सहभागीता बढि रहने उक्त सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजावादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी हुने चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

चिनियाँ कम्युनिस्‍ट पार्टी (सीपीसी) को स्थापनाको एक सय वर्ष पुगेको अवसरमा नेपाललगायत विश्‍वका नेताहरूसँग अन्तरक्रिया गर्ने क्रममा नेपाली नेताहरू पनि सहभागी हुने भएक हुन् । नेपालबाट अन्तरक्रियामा कम्युनिस्ट पार्टीहरूको अलवा अन्य राजनीतिक दलबाट पनि सहभागीता रहने भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि याे सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै अन्य राजनीतिक दलका नेताहरू पनि सहभागी हुनेछन् । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सीले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्‍वका नेताहरूले पठाएको भिडियो सन्देश प्रशारण हुनेछ । सम्मेलनमा अनौपचारिक दोहोरो छलफल पनि हुन सक्ने अधिकारीहरूले बताए ।

चीनले सीपीसी स्थापनाको एक सयौं वर्षगाँठलाई उत्सवको रूपमा मनाइरहेकाे अवस्थामा यो छलफल जुरेको हो । कोभिड-१९ नभएको भए चीनले सयौँ नेतालाई बेइजिङमा उतारेर भव्य सम्मेलन गर्ने तयारी गरेकाे थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org