ताजा समाचार

सभापतिमा देउवाको विकल्प छैन: महत

काठमाडाैँ ।  कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सभापतिमा शेरबहादुर देउवाको विकल्प नभएको बताएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै डा. महतले पुर्ख्याैली बिरासतको आधारमा नभई योगदानको आधारमा नेतृत्व चयन हुनुपर्ने भएकाले सभापतिमा देउवाको विकल्प नभएको बताएका हुन् ।

महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताए । वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको भन्दै उनले योग्य र सक्षम उम्मेदवार आकांक्षीका रूपमा अघि आउन सक्ने बताए ।

विधानले दोस्राे पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उनले पुर्खाको योगदान वा पुर्ख्याैली बिरासतको आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गरे । पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गरे ।

भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उनले पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता–कार्यकर्ता रहेको बताए । उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनीतिक परिस्थितिमा बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org