ताजा समाचार

‘संसद विघटन प्रधानमन्त्रीको जघन्य राजनीतिक अपराध हो’

काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर जघन्य राजनीति अपराध गरेको आरोप लगाएका छन्।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै बिडारीले यस्तो अपराध संसारका कुनै तानाशाहले पनि नगर्ने बताए।

‘एउटै प्रधानमन्त्रीले एउटै प्रतिनिधिसभालाई दुई-दुई पल्ट विघटन गर्नु भनेको जघन्य राजनीतिक अपराध हो।’ बिडारीले भने,  ‘यस्तो अक्षम्य अपराध संसारका कुनै पनि तानाशाहले गर्दैन। किनभने प्रतिनिधिसभा जनताको सभा हो।’

प्रधानमन्त्री चुन्ने मुख्य कर्तव्य प्रतिनिधिसभाको भएको भन्दै बिडारीले थपे, ‘प्रतिनिधिसभालाई विघटन गरेर त्यसको सम्पूर्ण अधिकार आफूले प्रयोग गर्ने यो बेइमानी हो ।’

उनले चुनाव पनि प्रधानमन्त्रीले भनेअनुसार नहुने संविधानले भनेअनुसार हुने बताए।

राष्ट्रपतिले संविधानको धारा ७६ (५) को अधिकारको अपव्याख्या गरेको तर्फ व्यङ्ग्य गर्दै बिडारीले भने, संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ मात्रै लेखेको भए, आच्या ! म त मेरै भाइलाई नियुक्ती गर्छु। संविधानले राष्ट्रपतिलाई पूरा अधिकार दिएको छ । भाइ, छोरीलाई गर्न पाइँदैन भनेर लेख्या छैन भनेर अपव्याख्या गर्न सक्ने देखियो।

उनले अहिले निर्दलीयताका कुरा उठाइएको भन्दै दलीय व्यवस्था भित्र अहिले पनि केही निर्दलीय अभ्यासहरू भइरहेकाे दाबी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org