ताजा समाचार

एमाले फुटाउने कुत्सित षड्यन्त्रअन्तर्गत विश्वासको मत लिन खोजियोः भीम आचार्य

काठमाडाैँ ।  नेकपा एमालेका सचिव भीम आचार्यले एमाले फुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन खोजेको आरोप लगाएका छन् ।

आइतबार वरिष्ठ नेता माधव नेपालसँगको छलफलपछि बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव आचार्यले एमाले फुटाउने कुत्सित षड्यन्त्रअन्तर्गत प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको आरोप लगाएका हुन् ।

‘हतार-हतार विश्वासको मत लिइँदैछ । यो एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्रअन्तर्गत हुँदै छ,’ उनले भने ।

सचिव आचार्यले कार्यदलले जुटाएको १०बुँदे सहमतिपश्चात् विभाजित भएर एमालेले भोट हाल्दैन भनेका बेला विश्वासको मत लिन खोजिएको बताए ।

‘१०बुँदे सहमति गरेर हामीले पार्टी एकजुट बनाउन लागेका बेला र हामीले विश्वासको मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्रबाहेक अरु केही होइन,’ उनले भने ।

सचिव आचार्यले एमालेका कोही सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए त्यो व्यक्तिगत हुने बताए ।

‘विश्वासको मत दिनेबारे पार्टीमा खास छलफल भएको छैन । हाम्रो (माधव नेपाल) टिममा पनि छलफल भएको छैन,’ उनले भने, ‘मनलागी ढंगले कसैले विश्वासको मत दिए त्यो व्यक्तिगत हुन्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org