ताजा समाचार

माधव कमरेड वेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट देखियोः प्रवक्ता ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको ताएका छन् ।

च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकपछि ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफू एक्लैले भएपनि विश्वासको मत दिने बताएर नेपाल बेग्लै कोर्षमा हिँड्न चाहेको प्रष्ट भएको बताएका हुन् ।

‘आज पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका थियौं । उहाँले एक्लैले भएपनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट विगतमा कार्यदलमा रहनु भएका साथीहरुले त्यो उचित नहुने र जे कुरा गर्दा पनि संस्थागत निर्णयबाट गर्न पर्ने कुरा राख्नुभयो,’ ज्ञवालीले भने, ‘तर उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नसिकिने बताउनुभयो । त्यसको तात्पर्य उहाँले एमालेलाई एकताबद्ध बनाएर लैजाने कुरामा इच्छुक देखिनुभएन भन्ने देखिायो । माधव कमरेड वेग्लै कोर्षमा हिँड्न चाहनु भएको प्रष्ट देखियो । ’

त्यो निर्णयबाट फर्काउन नेपालको टिममा रहेका नेताहरुले प्रयत्न गरिरहेको पनि ज्ञवालीले बताए ।

‘उहाँको टिममा रहेका साथीहरुले पनि प्रयत्न गरिरहनुभएको छ । हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने । तर दस बुँदे पछि अब संस्थागत निर्णय हुनुपर्छ भनेका छौं । कार्यदलतहमा देउवालाई विश्वासको मत दिन दिने विषयमा हाम्रो समहमति भएको हैन । यो कुरामा जान सकिँदैन भनेर साथीहरुले भन्नुभयो । उहाँहरुले प्रयास गरिरहनुभएको छ । कुनै परिणाम आयो भने बेग्लै कुरा अन्यथा माधव नेपाल एउटा निष्कर्षमा पुग्नुभएको हाम्रो बुझाइ छ,’ ज्ञवालीले भने ।

बैठकले सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ ।

‘हामीले अस्तिको बैठकबाटै निर्णय गरिसकेका छौं कि हामी प्रतिपक्षमा रहन्छौं । सरकारलाई समर्थन गर्न सक्दैनौं । सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्छौं,’ ज्ञवालीले भने, ‘यहि कुरा पार्टीका सांसद र सम्भव भएका अरु दललाई पनि आग्रह गर्ने निर्णय गरेका छौं ।’

प्रवक्ता ज्ञवालीले पार्टी निर्णयभन्दा बाहिर गएर देउवाको पक्षमा विश्वासको मत कसैले दिए उनीहरु एमालेमा नरहने बताए । ‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर रहेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाएर बनेको सरकार या प्रधानमन्त्रीको पक्षमा मत हालिसकेपछि ती साथीहरु पार्टीभित्र रहनुहुन्न,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org