ताजा समाचार

यादव पक्षको संसदीय दलमा बहुमत पुग्यो, देउवालाई २० सांसदको समर्थन

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका २० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

आइतबार बसेको यादव पक्षको संसदीय दलको बैठकमा २० जना जसपा सांसद सहभागी भएको जसपाका नेता इस्तियाक राईले जानकारी दिए । यससंगै जसपाको संसदिय दलमा ३२ जनामध्ये २० जना यादवको पक्षमा पुगेका छन् ।

प्रधानमन्त्री देउवाले अपराह्न ४ बजेपछि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा वरावर मन्त्रालय आफुहरुले पाउनुपर्ने अडान पनि जसपाले राख्ने भएको छ । जसपाले एमालेको माधव नेपाल पक्ष सहभागी भए ५ मन्त्रालय र १ राज्यमन्त्री र सहभागी नभएको अवस्थामा ७ मन्त्री र १ राज्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

नेपाली कांग्रेसको तर्फबाट गृह र कानुन, माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने माग राखेको छ । त्यसका साथै अन्य महत्वपूर्ण मन्त्रालयहरुको समेत समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुको माग छ ।

जसपाको आधिकारिकता विवाद अहिले निर्वाचन आयोगमा चलिरहेको छ । आयोगले आइतबारदेखि सुनुवाइ गर्ने कार्यतालिका छ । आयोगमा सनाखत प्रक्रिया पूरा भएलगत्तै जसपा सरकारमा जाने तयारीमा रहेको नेता राईले बताए । जसपाबाट अध्यक्ष उपेन्द्र यादवसहित इस्तियाक राई, राजेन्द्र श्रेष्ठ,प्रदिप यादव,रेणु यादव,महेन्द्र यादव र प्रमोद शाह सरकारमा जाने लगभग निश्चित भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org