ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

काठमाडाैँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ।

च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्न लागेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आइतबारमात्रै नेकपा एमालेको संसदीय दलमा सांसदहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा विभाजित भएका थिए। एमालेका १२१ सांसदमध्ये केहीले पक्षमा मत दिएका थिए, केहीले विपक्षमा मत हालेका थिए भने केही मतदान प्रक्रियामा नै सहभागी भएका थिएनन्।

आन्तरिक विवाद चुलिएको र विवाद समाधान कार्यदलले तयार पारेको सहमतिको प्रस्ताव नै सर्वस्वीकार्य नभएका बेला अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने आजको बैठकमा नजाने बताएको छ। नेपाल समूहले तत्काललाई पार्टीका बैठकहरू रोकेर सहमतिका आधारमा मिति तोक्ने प्रस्ताव गरिरहेको छ।

‘एकतर्फी रूपमा बोलाइएको आजको बैठकमा पनि हामी जाँदैनौं,’ नेपालनिकट केन्द्रीय सदस्य मेटमणि चौधरीले भने।

विवाद कार्यदलमा सदस्य रहेका  नेपालनिकट केन्द्रीय सदस्य गोकर्ण बिष्टले भने आफूहरू अझै पनि पार्टी एकतावद्ध बनाउन प्रयासरत रहेको बताए।

‘हामी अहिले अप्ठेरोमा परिस्थितिमा छौं तर पार्टी एकतावद्ध बनाउन प्रयास गरिरहेका छौं,’ बिष्टले भने।

आइतबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बेला बिष्टसहित नेपालनिकट १० सांसद संसद भवनबाट बाहिरिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org