ताजा समाचार

बैंकिङ सिष्टम ह्याक प्रकरण : आतंकित नहुन राष्ट्र बैंकको अपिल

काठमाडौं । बैंकिङ प्रणाली ‘ह्याक’ गर्ने धम्कीसहितको इमेल र फोन आएपछि नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्था सतर्क देखिएका छन् ।

बुधबार अपराह्न नेपाल राष्ट्र बैंकसहित विभिन्न १६ बैंकको सिस्टम ह्याक गर्ने धम्की आएपछि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले आफ्नो ‘सिस्टम चेक’ गरिरहेका छन् ।

उक्त धम्कीपछि बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकका सबै प्रणालीको परीक्षण भइसकेको छ । राष्ट्र बैंकसहित कुनै पनि बैंक तथा वित्तीय संस्थाको प्रणालीमा कुनै पनि छेडखानी नभएको राष्ट्र बैंकको डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् ।

“आरटीजीएस प्रणाली, जीएल प्रणाली, एनसीएचएल प्रणाली र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ सिस्टम लगभग चेक भइसकेको छ । भेरिफाइड फायरवालमा कुनै पनि आक्रमण भएको छैन,” मिश्रले भने, “ह्याकिङ गर्ने भन्दै इमेल गरेर अफवाह र आतंक फैलाउन खोजेजस्तो देखिन्छ । आम सर्वसाधारणमा राष्ट्र बैंकको तर्फबाट सबैको पैसा सुरक्षित छ, कुनै चिन्ता लिनुपर्ने अवस्था छैन, ढुक्क हुनुहोस् भन्ने अपिल छ ।”

‘इनिसियल सेक्युरिटी असिस्मेन्ट’का अनुसार सबै प्रणालीहरु सुरक्षित रहेको उनले बताए । नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, नेपाल बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डु, सिटिजन्स बैंकको सिस्टम ह्याक गरेर पैसा चोरी गर्ने धम्कीसहित इमेत आएपछि बैंकिङ क्षेत्र त्रसित बनेको हो ।

नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल पनि धम्कीपुर्ण इमेल आए पनि अहिलेसम्म बैंकिङ सिस्टममा कुनै पनि छेडखानी नभएको बताउँछन् । “उक्त इमेल आएपछि हामी सजग भएका छौँ, तर कुनै छेडखानी भएको छैन,” उनले भने, “उक्त धम्कीले हामीलाई झनै सचेत गराएको छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org