ताजा समाचार

जनताले जनादेश दिएका छैनन्, सरकारमा जान्नौं भन्नुहुन्थ्यो बधाई दिनुपर्ने अवस्था आयो : नेम्वाङ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले जनादेश प्राप्त नभएकाले सरकारमा जान्न भन्ने शेरबहादुर देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको बताएका छन् ।

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेम्वाङले जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री चयन भएको भन्दै आलोचना गरेका छन् ।

‘मन्त्रिपरिषद् गठनको विषयमा नै प्रधानमन्त्री देउवाले हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन्, त्यसकारण म सरकारमा जान्न भन्नुभएको थियो । तर अहिले त बधाई दिनुपर्ने अवस्था आयो,’ नेम्वाङले भने, ‘अहिले सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्छ र बधाई दिँदैछु । कहिले जनादेश प्राप्त भएछ थाहा छैन ।’

संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको जनताको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ थियो । उनले भने, ‘यो पहिलोपटक हो, संसद्‍बाट होइन, जनताको जनादेशबाट होइन तर सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं ।’

नेम्वाङले सर्वोच्चको असार २८ गतेको फैसलाले धेरै प्रश्न उठाएको बताए । त्यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई खलबल्याएको पनि उनको दाबी थियो ।

‘सर्वोच्च अदालतले संविधानको अक्षर र भावना, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन, प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्तावना हो,’ नेम्वाङले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसलाले त्यसलाई कमजोर तुल्याएको छ ।’

जनादेशमा जाने कुरालाई निरंकुश भन्ने कुरा गलत भएको पनि नेम्वाङको भनाइ थियो । तर सर्वोच्च अदालतले राज्यका तीन अंगबीचको शक्ति सन्तुलन खलबलिएको आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org