ताजा समाचार

चुरे संरक्षणका लागि हरित अभियान

काठमाडाैँ ।चुरे संरक्षणका लागि हरित अभियान नेकपा माओवादी केन्द्रका स्थायी सदस्य गिरिराजमणि पोखरेलले हरित अभियान सुरु गरेका छन् ।

आईतबार जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका पोखरेलले हरित अभियान सुरु गरेको जनाएका हुन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका पोखरेलले जिल्लाको गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट सो अभियान शुरु गरेको जनाइएको छ । उनले चुरे संरक्षणका लागि हरित अभियान चलाउने र पहिलो चरणमा ३ लाख विरुवा वृक्षारोपण गर्ने जानकारी दिए ।

पूर्वमन्त्री पोखरेलले भने– ‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृति बीचको स्वास्थ्य सम्बन्धलाई पुनःस्थापित गराउने पहल गरेका छौँ । यस अभियानले समुदायले भोगिरहेको विभिन्न समस्याहरुलाई क्रमागत रुपमा निर्मूल पार्न सहयोग गर्ने छ ।’ उनले यस अभियानमा आबद्ध हुन सरोकारवाला संघ, संस्था, क्लब र समूहलाई आह्वान समेत गरेका छन् ।

उनले चुरे क्षेत्रमा बढिरहेको वन विनाश, अनियन्त्रित भू–उपयोग, अव्यवस्थित विकास निर्माण तथा अत्याधिक उत्खनन जस्ता मानवीय क्रियाकलापले गर्दा चुरेको वातावरणमा निरन्तर ह्रास भएको बताए । उनले भने, ‘यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरुभूमिकरण गरिरहेको देखिन्छ ।’

हरित अभियानले परिस्थिति प्रणालीको पुनःस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

अर्को प्रशंगमा उनले विकास निर्माणले केही विनास अवश्य भएपनि विकाससंगसंगै वृक्षारोपण अभियानलाई संचालन गर्नुपर्नेमा उनले जोड दिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org