ताजा समाचार

दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिँदैन: ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । महासचिव पोखरेलले नेपाल पक्षले सञ्चार माध्याममार्फत् राखेका ती प्रस्ताव पार्टीको विधि र विधानभन्दा फरक ढंगले आएको उल्लेख गर्दै स्वीकार गर्न नसकिने बताए। शुक्रबार थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित साउन १५ को खीर खाने कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले कार्य दलले सहमति जुटाएर पार्टीको केन्द्रीय समितिले अनुमोदन गरेको १० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा आफूहरूको जोड रहेको पनि स्पष्ट पारे ।

‘पार्टीको विधि र विधानभन्दा फरक ढंगले हुन सक्दैन । पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ साल जेठ २ गते अघि जाने कुरा गरिरहेका छौं । त्यसमा जाँदा खेरी त्यस बेलाको विद्यमान विधान र नियमावलीमा के छ ? त्यसले अनुमति दिने, त्यसले स्विकार गर्ने, त्यसमा व्यवस्था भएका कुराहरुलाई नै पालना गर्नु पर्‍यो नि, सबैले ।’

माधव नेपाल पक्षबाट दैनिकजसो विभिन्न प्रस्ताव आउने गरेको उल्लेख गर्दै महासचिव पोखरेलले ती प्रस्तावबारे आफूले बुझ्न नसकेको पनि बताए । उनले पार्टी भित्र देखिएको विग्रहकारी स्थितिको अन्त्य छिटो हुनुपर्नेमा पनि जोड दिए । त्यसका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्न महासचिव पोखरेलको नेपाल पक्षसँग आग्रह छ । महासचिव पोखरेलले पार्टी एकताको विषयलाई टुंग्याएर पार्टीको महाधिवेशनको तयारीको कामलाई अघि बढाउन लागिएको जानकारी समेत दिए । यस्तै एमालेले शनिबार (भोली) पार्टी स्थायी समिति बैठक बोलाएको छ । बैठकमा पार्टीको आगामी महाधिवेशनमा केन्द्रित भएर छलफल हुने एमालेले जनाएको छ । माधव नेपाल पक्षसँगको एकताको विषयलाई छिटो टुंग्याएर  महाधिवेशनमा केन्द्रित हुन आफूहरुले चाहिरहेको महासचिव पोखरेलको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org