ताजा समाचार

माधव नेपाल एमाले विभाजनमा लाग्नु दुर्भाग्यपूर्ण : योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपाल पार्टी विभाजनमा लाग्नु दुर्भाग्य रहेको बताएका छन्।

पार्टी एकताको सन्देश र नेता कार्यकर्तामा उत्साह दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको विशेष पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ताको जिम्मेवारीमा फर्किएका भट्टराईले यसो भनेका हुन्।

पार्टीभित्र उत्पन्न समस्याका कारण देशभरका नेता कार्यकर्तामा केही निराशा उत्पन्न भए पनि त्यसको समाधानका लागि पहल गरिएको उनले बताए।

ती समस्या समाधान गर्न अध्यक्ष ओली र नेता नेपालको सहमतिमा कार्यदल बनेको पनि उनले स्मरण गरे।

‘कार्यदलले एकताका लागि अथक मेहनत गरेको थियो’, उनले भने, ‘तर आफैँले बनाएको कार्यदलले बनाएको १० बुँदे सहमतिलाई बेवास्ता गर्दै एमाले विभाजन गर्ने काममा माधव नेपाल लाग्नुभयो, यो दुर्भाग्यपूर्ण कुरा हो।’

एमाले फुटाउन अहिले पनि विभिन्न शक्ति केन्द्र लागिरहेका नेता भट्टराईले बताएका छन्।

‘जनपक्षीय चरित्र बोकेको, नेपालको संस्कृतिको प्रतिनिधित्व गरेको जनताको लोकप्रिय पार्टी एमालेको विभाजनले कसैको पनि हित गर्दैन’, उनले भने।

उनले मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले सबै नेताहरुलाई विभाजनतिर नजान पनि आग्रह गरेको बताएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org