ताजा समाचार

परम्परा तोड्दै वाईसीएलको नेतृत्व चयन, ६ महिनाका लागी देवकोटा संयोजक

`राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समिति एकसातामै आयोजक समितिमा रुपान्त्रित'

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को पहिलो केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा `अब्दुल´ र सह-संयोजकमा सुबोधराज सेर्पालीलाई जिम्मेवारी दिएको छ ।

आगामी फागुनभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने गरि वाइसीएलको संयोजक र सह-संयोजक तोकिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उपस्थितिमा काठमाडौंको अनुपम पार्टी प्यालेसमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकले पदाधिकारी चयन नगरि विघटित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जस्तै अभ्यास गरेको हो ।

वाईसीएलको इतिहासमा परम्परा तोड्दै देवकोटा संयोजक बनेका हुन् । यसअघि गणेशमान पुन अध्यक्ष हुँदा रामचन्द्र (आरसी) शर्मा `विज्ञान´ अध्यक्ष बनेका थिए । भने, आरसीको अध्यक्षतामा बनेको पदाधिकारी टिमका महासचिव दिलिप प्रजापति `भिष्म´ले माओवादी विभाजनमा मोहन वैद्य किरणको पक्षमा लागेपछि तत्कालीन सचिव रामप्रसाद सापकोटा `दिपशिखा´ महासचिव बनेका थिए । त्यसपछि उनै दिपशिखा अध्यक्ष बनेका थिए ।

वाईसीएल पार्टीको सहायक संगठन भनिएपनि आन्तरिक रुपमा लोकतन्त्रको अभ्यास गर्न नदिई माओवादी अध्यक्ष प्रचण्डले हस्तक्षेप गरेको गुनासो वाईसीएल वृत्तमा चर्चाको विषय बनेको जनाइएको छ ।

`राष्ट्रिय भेलाबाट केन्द्रीय समिति सदस्य बनेको एक हप्तामै आयोजक समितिमा रुपान्त्रित बनियो । यो कम्युनिष्ट पार्टी र आम युवाले राजनीतिमा लिने स्टेपबारे एकपटक गम्भीर भएर सोच्न बाध्य बनाएको छ´, एक आयोजक समिति सदस्यले भने ।

वाईसीएल संयोजक बनेका सुमन प्रचण्डको गृह जिल्ला चितवनका हुन् । भने, सेर्पाली रुकुम पूर्वका हुन् ।

वाईसीएल विधान बमोजिम १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु संगठनमा बस्न पाउने व्यवस्था छ । ६ महिना मात्रै उमेरहद बाँकी रहेका देवकोटालाई वाईसीएलको संयोजकको जिम्मेवारी पुरा गर्नका लागि आगामी फागुनसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरि जिम्मेवारी सुम्पिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org