ताजा समाचार

हामी अतिथि होइन, रैथाने लोकतन्‍त्रवादी हौं : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरु पावर केन्द्रित गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

मदन भण्डारीको जीवनीमा आधारित पुस्तक ‘श्वेतशार्दुल’ विमोचन समारोहमा कांग्रेस नेता दमननाथ ढुंगानाले कम्युनिष्टहरुले लोकतन्त्र नचाहेको र केन्द्रीकृत शासनको पक्षपात गर्न खोजेको आरोप लगाएपछि जवाफमा ओलीले कम्युनिष्टहरु केन्द्रीकृत शासन गर्छन् भन्ने कुरामा भ्रम नपाल्न आग्रह गरे ।

‘कम्युनिष्टहरु चाँहि दमनकारी हुन्छन्, त्यहीकारण फाटो हुन्छ भन्ने कुरा गर्नुभयो । फाटो स्वार्थमा केन्द्रीत हुने, देश र जनताको स्वार्थमा ध्यान नदिने भयो भने हुन्छ,’ ओलीले भने, ‘यो एउटा भ्रम हो, यस्तोमा नफस्नुहोला ।’

ओलीले नेकपा एमाले रैथाने लोकतन्त्रवादी भएको दाबी गरे । ‘लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताले भन्दा हामीले कम योगदान गरेको छैन । फेरि मैले कांग्रेसले कम गरेको छ पनि भनेको छैन,’ ओलीले भने, ‘प्रजातन्त्र अरुले ल्याइदिएको होइन, अरुले ल्याइदिएको प्रजातन्त्र हामीले स्वीकारमात्रै गरेको पनि होइन । हामीले रगत पसिना बगाएर स्थापना गरेको प्रजातन्त्र हो । हामी अतिथि लोकतन्त्रवादी होइनौं, रैथाने लोकतन्त्रवादी हौं ।’

उनले अहिले नेकपा एमालेले अपनाएको लोकतान्त्रिक पद्धति र संस्कार सबैभन्दा उत्तम भएको दाबी गरे । ‘नेपालको लोकतन्त्रलाई आकार दिने कुरामा नेकपा एमालेले जुन प्रारुप अघि सारेको छ, त्यो प्रारुप, त्यो खाका अहिलेलाई कसैसँग पनि छैन, चाहे त्यो कांग्रेस होस् वा अरु, हामीले अघि सारेको जस्तो प्रारुप कोहीसँग छैन । किनभने हामी जनताको जनवादबाट निर्देशित छौं । बहुदलीय स्वस्थ प्रतिस्पर्धात्मक प्रणाली हामी मान्छौं,’ ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org