ताजा समाचार

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : शर्मा

काठमाडौं । अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

मंगलवार पेरिसडाँडामा आयोजित पार्टीनिकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकमा उनले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत  सीमान्तकृत समुदायका जनताको नीति निर्माण तहमा प्रतिनिधित्व हुने बताए ।

“पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशि खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरूको छैन । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ,” उनले भने ।

अबको सन्दर्भमा संगठनको स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै शर्माले पार्टी र जनवर्गीय संगठनहरूका हरेक इकाइलाई उत्पादन इकाइको रूपमा बदल्नुपर्ने बताए ।

“उत्पादनसँग जोडिएको संगठन भएन भने समाजवादमा जान सकिँदैन, हरेक कार्यकर्ता, तिनको परिवारलाई आर्थिक रूपले आत्मनिर्भर बनाउनुपर्छ । त्यसो गर्नको लागि संगठनको हरेक इकाइलाई उत्पादनसँग जोड्नुपर्छ,” उनले भने ।

राजनीतिक सत्ता परिवर्तन भए पनि पुरानो सामाजिक–सांस्कृतिक सत्ता यथावतै रहेको भन्दै उनले दलित समुदायमाथि भइरहेको सांस्कृतिक उत्पीडन र विभेद त्यसकै परिणाम भएको बताए ।

दलित मोर्चाको नेतृत्वमा सामाजिक–सांस्कृतिक आन्दोलन सशक्त बनाउँदै त्यसलाई संघर्षको एजेन्डाको रूपमा अघि बढाउन उनको आग्रह छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org