ताजा समाचार

गठबन्धन बैठक भोलि : शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सत्ता गठबन्धनको बैठक डाकेका छन् । गत बिहीबार बसेको सत्ता गठबन्धन बैठकले अध्यादेश खारेजी गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । त्यही समझदारीका आधारमा गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गर्यो । तर, त्यसयता सत्तागठबन्धन बैठक बस्न सकेका छैन । तयारी अनुरुप काम हुन नसक्दा सत्ता गठबन्धनबीच मन्त्रालयको भागवण्डा मिल्न सकेको छैन ।

आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेपछि बिहीबारका लागि बैठक डाकेका छन् । “गठबन्धनको बैठक भोलि बिहानका लागि बोलाइएको छ,” सत्ता गठबन्धनका नेता तथा जसपा अध्यक्ष उपेन्द्र यादवले भने, “भोलि सम्भवत मन्त्रालयको भागवण्डाको टुंगो लाग्छ ।” उनका अनुसार भोलि मन्त्रालयको भागवण्डा मिले पनि भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना कम छ ।

जसपा र नेकपा एकीकृत समाजवादीबीच अध्यादेश खारेजीपछि मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि मात्रै अध्यादेश खारेज गर्ने अडानका कारण प्रधानमन्त्री अलमलमा परेका थिए ।

लामो प्रतिक्षापछि पनि जसपाले अध्यादेश खारेज नहुँदासम्म सरकारमा सहभागी नहुने अडान लिएपछि गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिबाट त्यही दिन अध्यादेश खारेज भएको थियो । तर, सत्ता गठबन्धनको बैठक भने त्यसयता बस्न सकेको छैन । सत्ता गठबन्धन बैठक बस्न नसक्दा मन्त्रिपरिषद् विस्तार पनि अनिश्चित भएको छ ।

गत बिहीबार दलहरुबीच मन्त्रिपरिषदले अध्यादेश खारेज गर्नासाथ सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार चाँडै गर्ने समभदारी भएको थियो । बालुवाटार स्रोतले पनि अध्यादेश खारेज भएपछि ढिलोमा बिहीबारसम्म मन्त्रिपरिषद विस्तार भइसक्ने बताएको थियो । तर, यसबीचमा सत्ता गठबन्धनको बैठक नै बस्न सकेको छैन । सत्ता गठबन्धन कार्यालयमा संयोजकको भूमिका निर्वाह गरिरहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का गत शुक्रबारदेखि नै कोरोना संक्रमित भएर उपचारत छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org