ताजा समाचार

५ महिनापछि एउटै मञ्चमा देउवा, ओली र यादव

काठमाडौँ ।  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरू भएको छ ।

चितवनको नारायणी नदी किनारमा तयार भएको मञ्चमा एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा सँग–सँगै पुगेका हुन् ।

देउवा हेलिकप्टरबाट एमाले महाधिवेशनमा भाग लिनकै लागि चितवन पुगेका हुन् । करिब ५ महिनापछि देउवा र ओली एउटै मञ्चमा यसरी भेट भएका हुन् ।

सर्वोच्च अदालतको असार २८ गतेको आदेशपछि प्रधानमन्त्री पदबाट हटेसँगै ओली र देउवाबीच औपचारिक रूपमा भेटवार्ता भएको थिएन । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले तत्कालीन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सन्देश पठाएर ओलीसँग भेटघाटको पहल गरे पनि सफल भएको थिएन।

उनीहरूसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मञ्चमा पुगेका छन् । ओली र देउवा पुगेपछि लगत्तै राष्ट्रिय गान गाएर उद्घाटन सत्र अघि बढेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई निमन्त्रणा गरे पनि उनी भने गएका छैनन् । दाहाल शुक्रबार बिहानै काभ्रेतिर लागेका छन् ।

महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उद्घाटन समारोहमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राप्रपा अध्यक्ष कमल थापाले पनि सम्बोधन गर्ने तय भएको एमालेले जनाएको छ ।

त्यस्तै एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका नेताहरू सहभागी हुने भएका छन् । चीनलगायत अन्य २५ देशका दलहरूले भने शुभकामना सन्देश पठाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org