ताजा समाचार

इन्टरपोलको महासभामा सहभागी भएर स्वदेश फर्किए आईजीपी थापा क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका छन् ।

मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश फिर्ता भएका छन् ।

उनीहरुहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा स्वागत गरे ।

८९औं महासभामार्फत दि फेडेरेटेड स्टेट्‌स अफ माईक्रोनेसियाले १९५औं सदस्य राष्ट्रको रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औं महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औं महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ ।

महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहेम नासिर एएल रैसी अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाईजेरियाका गरभा बाबा उमार र अमेरिका महादेशका लागि ब्राजिलका भल्डेसी उर्जकुजा तथा अफ्रिका लागि २ जना, अमेरिकाका लागि २ जना, एसियाका लागि २ जना र युरोपका लागि ३ जना गरी ९ जना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका हेड अफ एन सीबी तथा प्रतिनिधिहरूले इन्टरपोलको कार्यकारी समिति सम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना २०२२(२०२५, कार्यक्रम तथा बजेट, कार्यनीतिक तथा रणनीति साझेदारी, बालबालिका विरुद्धका अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित समेत भएको थियो ।

साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, यूएई, दक्षिण कोरिया, बंगलादेश, टर्की लगायतका मुलुकका प्रहरी प्रमुखहरुसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल समेत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org