ताजा समाचार

सभापतिको साझा उम्मेदवार टुंगो लगाउन चाक्सीबारीमा बैठक

काठमाडाैँ । आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाएर जाने सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको बैठक अहिले चाक्सीबारीमा सुरु भएको छ।

सभापतिका दावेदार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा उक्त बैठक सुरु भएको हो।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालासहित सहभागी छन्।

त्यसैगरी बैठकमा डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादव पनि उपस्थित छन्।

यो बैठकबाट पार्टीको महाधिवेशनमा इतर समूहबाट सभापतिको साझा उमेदवार तय गर्न छलफल भइरहेको छ।

यसअघि बोहोराटारस्थित पौडेल निवासमा सोमबार साँझ बसेको संस्थापन इतर पक्षको बैठकमा आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाएर जाने सहमति गरेको थियो।

सोमबारको छलफल सकारात्मक भएकाले मंगलबार संस्थापन इतर समूहको केन्द्रिय समिति बैठक बस्न लागेको हो।

सोमबार बैठकमा वरिष्ठ नेता पौडेल, नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच छलफल भएको थियो। तीन नेताको सहमतिमा मंगलबार संस्थापन इतर समूहका नेताको केन्द्रीय समिति बैठक आह्वान गरिएको हो।

यसअघि सोमबारै बिहान गगन थापा र धनराज गुरुङसहितका युवा नेताहरुले इतर समूहबाट साझा उम्मेदवार छान्नै पर्ने निष्कर्षसहित नेताहरुमा दबाब बढाएका छन्।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा दोहोरिने तयारी गरिरहँदा संस्थापन इतर समूहले पनि सभापतिको साझा उमेदवार उठाउने प्रयास गरिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org