ताजा समाचार

एकैमञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु भएको छ । महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन विभिन्न राजनीतिक दलका प्रमुखहरु भृकुटीमण्डपस्थित उद्घाटन समारोह पुगेका छन् ।

कांग्रेस महाधिवेशनले संयोग पनि जुराएको छ । तत्कालीन नेकपा भङ्ग भएपछि एकै मञ्चमा नदेखिएका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समारोहमा सहभागी भएका छन् ।

ओली र नेपालबीच पाँच महिना र ओली र प्रचण्डबीच एक वर्षयता भेटघाट भएको थिएन । नेकपा विवाद उत्कर्षमा पुग्दा ओली–प्रचण्ड र नेपालबीच दूरी बढेको थियो । ०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा भङ्ग भयो । तर, एमाले विभाजन रोक्न ओली र नेपालबीच संवाद भएको थियो ।

पाँच महिनाअघि उनीहरुबीच असार २३ गते होटेल मेरियटमा लामो संवाद भएको थियो  । तर, सहमति नजुट्दा भदौमा दल विभाजन भएको थियो  । असार २३ यता ओली र नेपालबीच संवाद भएको छैन ।

ओली र प्रचण्डबीच ०७७ पुस ५ मा संसद् विघटन अघि भेटवार्ता भएको थियो  । ओलीले संसद् विघटन गरेपछि उनीहरूबीच टेलिफोन संवाद भए पनि प्रत्यक्ष भेटघाट भएको छैन  । चितवनमा भएको एमाले महाधिवेशनमा प्रचण्ड गएका थिएनन् भने नेपाललाई निम्तो दिइएको थिएन ।

ओली–प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org