ताजा समाचार

क्यानको प्रस्तावः कप्तान परिवर्तनको निर्णय यथावत, अरु कारवाही फिर्ता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) असन्तुष्ट खलाडीहरुको माग सम्वोधनका विषयमा केही लचक बनेको छ ।

खेलाडीहरुसँगको अनौपचारिक संवादमा क्यानले कप्तान परिवर्तनको निर्णय यथावत राखेर अरु कारवाही फिर्ता गर्ने प्रस्ताव राखेको स्रोतले बतायो ।

ग्रेडिङका विषयमा असन्तुष्टि जनाउँदै मिडियामा बोलेका ४ खेलाडीहरुलाई क्यानले कारवाही गरेको थियो । ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दिप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको छ । यस्तै, दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाइएको छ । उनीहरुसहित चार खेलाडीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने क्यानको निर्णय छ ।

यस्तो कारवाहीलाई लिएर सामाजिक सञ्जालमा आलोचना र राजनीतिक दवावसमेत परेपछि क्यान पुनर्विचारका लागि तयार भएको हो ।

स्रोतका अनुसार क्यान चार खेलाडीहरुलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णय फिर्ता लिन तयार भएको छ । यस्तै खेलाडीहरुको ग्रेडिङलाई लिएर उत्पन्न भएका असन्तुष्टी सम्वोधन गर्ने आश्वासन पनि क्यानका पदाधिकारीहरुले दिएका छन् । तर, कप्तान र उपकप्तान हटाउने निर्णय फिर्ता लिन भने क्यान तयार छैन ।

स्रोतले भन्यो, ‘कप्तान हटाइएको मात्र नभइ नयाँ कप्तानसमेत नियुक्त गरेर त्यसको जानकारी आईसीसीलाई गराइसकिएको छ । त्यसैले यो निर्णय फिर्ता हुन सजिलो छैन ।’

खेलाडीहरुले भने क्यानका सबै कारवाही फिर्ता हुनुपर्ने अडान राखेका छन् । राष्ट्रिय टिमका धेरै खेलाडीहरु ज्ञानेन्द्र र दीपेन्द्रलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् । यसैगरी राजनीतिक तहबाट पनि क्यानलाई निर्णय फिर्ता लिन दवाव परेको छ ।

क्यान र खेलाडीबीचको विवादका कारण हिजोबाट सुरु हुनुपर्ने बन्द प्रशिक्षण हुन सकेन । नयाँ प्रशिक्षक पुबुदु दासानायके नेपाल आएपछि प्रशिक्षण सुरु हुने क्यानले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org