ताजा समाचार

सम्मेलनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रुप दिँदै प्रचण्ड

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस ११ देखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनको काम अन्तिम चरणमा पुर्याएका छन् ।

अध्यक्ष प्रचण्ड झण्डै १५ दिनदेखि राष्ट्रिय सम्मेलनमा पेश गर्ने दस्तावेज लेखनमा जुटेका थिए ।

‘फाट्फुट लेख्न सुरु गरेको त १५ दिन जति नै भयो, तर मिहिन ढंगले  अघि बढेको तीन चार दिनमात्र भयो’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘बिहीबार बेलुकासम्म अध्यक्षको डकुमेन्ट तयार हुन्छ भन्ने बुझिएको छ ।’ ती सदस्यका अनुसार दस्तावेज लेख्ने काम प्रचण्ड आफैले गरेका छन् । ‘नेता र विज्ञहरुसँग सरसल्लाह र छलफल त हुने नै भयो, तर राइटिङको काम उहाँ आफैले गर्नुभएको छ’, ती सदस्यको भनाइ छ ।

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने सोचअनुरुप प्रचण्डले दस्तावेज तयार गरेको बुझिएको छ । प्रचण्डले दस्तावेज तयार गरिसकेपछि स्थायी कमिटी बैठकमा छलफल गर्ने माओवादीको तयारी छ । त्यसका लागि शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाउने तयारी भएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

‘बिहीबार अध्यक्षको डकुमेन्ट तयार भयो भने शुक्रबार स्थायी कमिटी बैठक बस्छ र छलफल हुन्छ’, स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले  भने, ‘अवको पार्टी कस्तो हुने र कसरी अघि बढ्ने भन्ने विषयको निर्क्योल अध्यक्षको डकुमेन्टमा धेरै भर पर्छ ।’ पछिल्लो समय नेकपा माओवादीका नेता कार्यकर्ताहरु दलाल पुँजीवादी वर्गको मतियार बनेको तथा नेतृत्व पंक्ति नै क्रान्तिकारी विचार र सिद्धान्तबाट च्युत हुँदै आएको गुनासो बढ्दै गएको छ ।

माओवादी प्रवक्ता कृष्ण बहादुर महराले पुस ११ देखि सुरु हुने सम्मेलनमा विगतका कमी कमजोरीको गम्भीर समिक्षा गर्दै भावी योजना र कार्यक्रम बनाउने जानकारी दिए । ‘सम्मेलनको मुख्य उदेश्य क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्नु नै हो, त्यसक्रममा हामीबाट विगतमा के के कुरामा कमजोरी हुनपुग्यो र पार्टी यो अवस्थामा पुग्यो गहिरो विश्लेषण हुन्छ’, प्रवक्ता महराको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org