ताजा समाचार

माओवादी केन्द्र स्थायी समितिकाे बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

पार्टी अध्यक्ष प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।

माओवादी केन्द्रको पहिलो राष्ट्रिय सम्मेलनमा पुस ११ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ। सोही राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे बैठकमा छलफल हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

उनका अनुसार बैठकमा प्रचण्डले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन्। उक्त सुझावलाई समेटेर अध्यक्षले प्रतिवेदनलाई पूर्णता दिने बुझिएको छ।

माओवादी केन्द्रले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस गर्ने तयारी गरेको छ। यसको लागि राष्ट्रिय सम्मेलनका प्रतिनिधिहरुलाई २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ।

प्रथम राष्ट्रिय सम्मेलनमा प्रस्ताव हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा छलफल गर्नका लागि २५ वटा समूह बनाएर दुई दिनसम्म छलफल चलाउने गरी गृहकार्य गरिरहेको हो।

माओवादीको राष्ट्रिय सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७, मनोनीत हुने ७३ जनासहित एक हजार ५३३ जना प्रतिनिधिले सहभागिता जनाउँदैछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org