ताजा समाचार

शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाटै समाजवाद सम्भव छ : प्रचण्ड

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाटै समाजवाद स्थापना सम्भव भएको बताएका छन् ।

सोमबार ८औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका हुन् । त्यस्तै दाहालले पार्टीको मार्गदर्शक सिद्धान्त मालेमावाद नै रहने उल्लेख गरेका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन् ।

दाहालले शान्ति प्रक्रियामा आएसँगै कुनै छलफलबिनै ‘प्रचण्डपथ’ स्थगित गर्नु कमजोरी भएको बताएका छन् । केन्द्रीय भेला, केन्द्रीय समिति बैठक वा कुनै फोरमबाट ‘प्रचण्डपथ’ स्थगित गरिनु कमजोरी भएको उनले उल्लेख गरेका हुन् ।

दाहालले नयाँ राजनीतिक विचार विकासका लागि ‘प्रचण्डपथ’ अनुभव र सन्दर्भ सामग्री बने पनि त्यसलाई नब्युँताइने बताएका छन् । पार्टीभित्र कतिपय नेताले अझै पनि ‘प्रचण्डपथ’ सान्दर्भिक र ब्युँताउने बताइरहँदा दाहालले प्रतिवेदनमा यस्तो उल्लेख गरेका हुन् ।

सोमबार बिहान साढे ११ बजेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org