ताजा समाचार

जनताको नजरमा माओवादीका १० लोकप्रिय नेता, कसले कति मत पाए ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पुस ११ देखि जारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को राजनीतिक तथा वैचारिक प्रतिवेदन र नेता देव गुरुङले पेश गरेको विधान प्रतिवेदन बन्दसत्र हलबाट सर्वसम्मत रूपमा पारित भएको छ ।

नयाँ नेतृत्व छनोटको विषयमा छलफल जारी छ । पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति नभए निर्वाचन प्रक्रियाबाट टुंगो लगाउने तयारीमा निर्वाचन आयोग रहेको छ । प्रजातान्त्रिक प्रणालीमा निर्वाचन प्रक्रियालाई सुन्दर लोकतान्त्रिक अभ्यासको रूपमा लिइन्छ ।

निर्वाचन प्रक्रिया स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुका साथै नेताको लोकप्रियता मापन गर्ने मुख्य आधार पनि हो ।
माओवादी केन्द्रको जारी महाधिवेशनस्थल प्रज्ञा भवनको मूलद्वारको बायाँतर्फ लेखनाथ हलको बाहिरी भित्तामा ‘जनमत सर्वेक्षण’ नाम दिएको ब्यानर देख्न सकिन्छ ।

मिडिया एकेडेमी नेपालको ब्यानरमा राखिएको जनमत सर्वेक्षणमा माओवादीका १० लोकप्रिय नेताहरूको मत सर्वेक्षण देखाइएको छ ।

राजनीतिक विषयमा जनताको धारणा सार्वजनिक गर्ने हिसाबले एमाले माहाधिवेशनबाट सुरू गरिएको अभियान्ता द्रोण पराजुलीले न्युज नेपाललाई जानकारी दिए। उनका अनुसार विश्वको  कुनाबाट फेसबुक, ट्विटर, मोबाइल एसएमएस र वेबसाइट www.matadan.com मार्फत मनपर्ने नेतालाई २४ सै घण्टा भोट गर्न सकिनेछ ।

आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रका सबैभन्दा लोकप्रिय नेतामा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ रहेका छन् । सबैभन्दा बढी मतका साथ उनी पहिलो नम्बरमा छन् । उनले १६,५०० मत ल्याएका छन् ।

दोस्रोमा पूर्व अर्थमन्त्री एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले १४३०१ मत पाएका छन् । तेस्रोमा पूर्व उप–प्रधानमन्त्री नारायणकाजी श्रेष्ठ १२६०९, चौथो प्रचण्डकी बुहारीसमेत रहेकी नेतृ बिना मगर छिन् । उनले १२८५० मत पाएकी छन् ।

त्यस्तै, पाचौंमा सुवोधराज शेर्पालीले १२२६० मत पाएका छन् । हालका अर्थमन्त्री जनार्दन शर्मा भने छैठौंमा रहेका छन् । उनले ११०५५ मत पाएका छन् । १० हजार ३२३ मतसहित पूर्वमन्त्री गणेशमान पुन सातौं नम्बरमा छन् ।

आठौंमा रहेका तिलकराज भण्डारीले १०२४५ मत पाएका छन् । त्यस्तै नवौंमा पूर्वमन्त्री शक्ति बस्नेत छन् । उनले १०२२७ मत पाएका छन् । अन्तिम दशमा माओवादी संसदीय दलका उपनेता देव गुरुङ रहेका छन् । उनले १०११२ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org