ताजा समाचार

आज एमालेको देशभर जिल्ला अधिवेशन, केपी ओलीले भर्चुअल उद्घाटन गर्ने

काठमाडौँ । नेकपा एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दैछ। पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीको अधिवेशन गर्ने भएको हो।

एमाले अध्यक्ष केपी ओलीले आज बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले आज जिल्ला गर्दैछ। जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन हुनेछ।

एमालेले गत मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा दशौँ महाधिवेशन गरेको थियोे। उक्त महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा भएको दोस्रो पूर्ण बैठले यही पुस २३ गते जिल्ला र आउँदो माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो।

एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ।

मौसमी प्रतिकूलताका कारणले पुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने एमालेले जनाएको छ। जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने रिजालले बताए।

अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org