ताजा समाचार

कानुनले तोकेको समयभित्रै स्थानीय चुनाव भएन भने देशव्यापी जनपरिचालन हुन्छ : पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छिट्टै स्थानीय निर्वाचनको मिति घोषणा नभएमा देशव्यापी रुपमा जन परिचालन गर्ने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आज काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले भन्नुभयो ‘यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रुपमा जन परिचालन हुन्छ ।’
उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई मुलुकको आर्थिक विकास र समृद्धिका एजेण्डासँग कुनै मतलब नभएको आरोप लगाउनुभयो ।
संविधान, मूल्य मान्यता र परम्परागत अभ्यासविपरीत बनेको गठबन्धनले देशवासीको आर्थिक समृद्धि र विकासको सपना पूरा गर्नुको सट्टा देश विकास गर्नुपर्छ भन्ने सपनालाई मूर्छित पार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
‘यो गठबन्धन एकातिर छ, अर्कोतिर नेकपा एमाले उभिएको छ । श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भन्नुभयो, ‘कानूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ ।’

नेता पोखरेलले पत्रकारिताको पेसागत सीप, क्षमता, दक्षता र मर्यादा अनिवार्य भएको बताउनु भयो । उहाँले आगामी दिनमा रचनात्मक कार्य गर्दै संगठनलाई अघि बढाउन समेत निर्देशन दिनुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org