ताजा समाचार

प्रचण्डमाथि बाबुरामको व्यङ्य : माछा देखे भित्र हात, सर्प देखे बाहिर हात !

काठमाडौं,२४ माघ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन्।

भट्टराईले आइतबार मध्यराति ट्वीट गर्दै अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) गिजोलिन थालेकाले त्यसको परिणाम गम्भीर हुने धारणा राखेका हुन्।

प्रचण्डले सार्वजनिक रुपमा एमसीसी संशोधन नगरी संसद्बाट अनुमोदन नहुने बताएपनि एमसीसी अनुमोदन गर्ने प्रतिबद्धता जनाउँदै वासिङ्टन डिसीस्थित एमसीसी मुख्यालयलाई पठाएको संवेदनशिल र अतिगोप्य पत्र आइतबार सार्वजनिक भएको छ। पत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट एमसीसी पारित गराउने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।

त्यस्तै, एमसीसी मुख्यालयले शुक्रबार देउवा र प्रचण्डलाई जवाफी पत्र पठाएर सम्झौता फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र अनुमोदन गरिसक्न समयसीमा दिएको पाइएको छ। दुवै नेताले दिएको समयसीमाभित्रै सम्झौता संसद्बाट पारित हुने विश्वास अमेरिकाले लिएको पत्रमा जनाइएको छ। पत्र सार्वजनिक भएपछि प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नै पर्ने दबाब भएकाले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि मात्र पत्र लेखिएको प्रचण्ड सचिवालयले जनाएको थियो। सोहि प्रसंगलाई उल्लेख गर्दै भट्टराईले प्रचण्डप्रति माछा देखे भित्र हात, सर्प देखे बाहिर हात भन्दै व्यङ्गय गरेका हुन्।

भित्र खाओवाद बाहिर माओवाद रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली राजनीति जबसम्म पाखण्डी दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश नबन्ने धारणा राखेका छन्। ‘भित्रभित्र  राष्ट्रघात बाहिर बाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद! ’,भट्टराईले भनेका छन्,‘नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन तबसम्म देश बन्दैबन्दैन। एमसीसी जुन ढंगले गिजोलिदैँछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है!’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org