ताजा समाचार

एमसीसीको विरोधमा आज आधा दर्जन दलले संसद् भवन घेराउ गर्दै

काठमाडाैँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै आज आधा दर्जन कम्युनिस्ट पार्टीले संयुक्त रूपमा संसद् भवन घेराउ गर्ने भएका छन्।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीले बुधबार दिउँसो संघीय संसद् घेराउ गर्ने भएका हुन्।

जसमा सत्ता गठबन्धनबाट अलग्गिँदै राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।

मंगलबार उनीहरूले देशभर कोणसभा गरेका थिए।

अब आज बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम गर्ने उनीहरूले जनाएका छन्।

बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई विरोध र्यालीसहित संसद् भवन पु्ग्ने कार्यक्रम छ।

एमसीसीको विरोधमा जनमोर्चासहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल) मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एकजुट भएका हुन्।

यसैबीच आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि अचानक स्थगन गरिएको छ। अब  बैठक फागुन २ गते बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org