ताजा समाचार

एमसीसी सम्झौता टेबुल हुने, माओवादी र समाजवादीले सांसदलाई ह्वीप नलगाउने

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग सम्झौता– एमसीसी कम्प्याक्ट, टेबुल गर्न आफ्नो कुनै रोकावट नहुने बताएसँगै सम्झौताका सम्बन्धमा संसद्मा छलफल गर्ने बाटो खुल्ने भएको छ ।

सोमबारको सर्वदलीय बैठकपछि सभामुख सापकोटाले आफू अम्पाएर (रेफ्रि)मात्र भएको र दलहरु नै यसमा निर्णायक भएको बताएका छन् ।

सरकारका एक मन्त्रीका अनुसार सम्झौता बुधबारको बैठकमा पनि टेबुल हुनसक्छ । सत्तारुढ गठबन्धनमै एमसीसी सम्झौताका विषयमा एउटै दृष्टिकोण छैन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सार्वजनिक खपतका लागि विरोध गरेपनि सम्झौता अनुमोदन गर्न सघाउने बताएका छन् ।

ती मन्त्रीका अनुसार माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा सम्झौता टेबुल हुँदा के गर्ने भन्नेबारे केही विकल्पमा छलफल भएको थियो । पहिले उनीहरूले उक्त दिन संसद बहिष्कार गर्ने भनेपनि पछिल्लो छलफलमा भने सांसदहरूलाई ह्वीप नलगाउने र बहिष्कार गर्न आह्वान पनि नगर्ने भएका छन् ।

सुरुमा बहिष्कार गर्ने भनेपनि  प्रमुख प्रतिपक्षी एमाले भने अझै पर्ख र हेरको अवस्थामा रहेकाले संसदमा गणपुरक संख्या पुर्‍याउनका लागि सत्तारुढ माओवादी र समाजवादीले ह्वीप नलगाउने भएका हुन् ।

ती दलका शीर्ष नेताले भने बहिष्कार गर्ने वा संसदमा त्यसको विरोधमा नाराबाजी गर्ने विकल्प रोज्न सक्ने बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसनका अध्यक्षलाई संयुक्त पत्र लेखेर फागुन १६ भित्र सम्झौतालाई अनुमोदन गराउने बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org