ताजा समाचार

एमसीसी राष्ट्रघाती भए आफ्ना अध्यक्षविरुद्ध नाराबाजी गर, ‘डबल स्टान्डर्ड’ छोड : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीका विषयम राजनीतिक दलहरूले ‘डबल स्टान्डर्ड’ छोड्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले एमसीसीको पक्षमा भए पक्षमा र विपक्षमा भए विपक्षमा उभिन आग्रह गरे ।  “डबल स्टान्डर्ड छाड्नुपर्छ । पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा । आधाले विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो कुरा गर्नेले पनि बन्द गर्नुपर्छ,” उनले भने ।

एमसीसी राष्ट्रघाती भन्ने हो भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पार्टीका अध्यक्षविरुद्ध नाराबाजी गर्नसक्नुपर्ने उनको भनाइ छ ।

“यो प्रस्ताव राष्ट्रघाती हो भन्ने हो भने सबैभन्दा पहिला मान्य भीम रावलले केपी शर्मा ओली राष्ट्रघाती मुर्दावाद भनेर संसद्भित्र नारा लगाउन सक्नुपर्छ । यो राष्ट्रघाती हो भनेर माओवादीका सांसहरूले र माधव नेपाल मुर्दावाद भनेर नेकपा एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ,” उनले भने ।

परिमार्जनका लागि व्याख्यात्मक घोषणा र संकल्प प्रस्तावको विकल्प अघि सारेको उनले बताए । सबै विकल्पमा कुरा गर्न कांग्रेस तयार भएको उनको भनाइ छ । नभए प्रक्रिया अघि बढ्ने र त्यसबाटै टुंगिने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org