ताजा समाचार

एमसीसीबारे व्याख्यात्मक टिप्पणीमा अमेरिका पनि सकारात्मक

काठमाडाैँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतामा नेपालका सत्तारुढ दलको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकाले सकारात्मक प्रतिक्रिया दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक कांग्रेस नेताका अनुसार अमेरिकाले व्याख्यात्मक टिप्पणीबारे सकारात्मक जवाफ दिएको छ।

‘व्याख्यात्मक टिप्पणीको मस्यौदा अमेरिकालाई पनि पठाएका थियौँ। त्यसपछि पटक—पटक उनीहरुसँग कुराकानी पनि भयो’, उनले भने, ‘उनीहरुको तर्फबाट व्याख्यात्मक टिप्पणीप्रति सकारात्मक जवाफ आइसकेको छ।’

संसदबाट व्याख्यात्मक टिप्पणी पारित भएपछि त्यसबारे अमेरिकालाई जानकारी पठाइने उनले बताएका छन्।

आइतवार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसीसँगको सम्झौता संसदबाट पारित गर्ने निर्णय गरिसकेको छ।

एमसीसी सम्झौता संशोधनबिना पास गर्न नहुने अडानमा रहेका सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी पनि व्याख्यात्मक टिप्पणी गरेर एमसीसी सम्झौता अनुमोदन गर्न राजी भएका हुन्।
व्याख्यात्मक टिप्पणीमा एमसीसी सम्झौता अमेरिकाले अघि सारेको हिन्द प्रशान्त सैन्य रणनीतिको अंग नभएको, एमसीसीसँगको सम्झौता नेपालको संविधान र कानुन भन्दामाथि नरहेको र एमसीसी नेपाल कम्प्याक्टको लेखा परीक्षण नेपालमा हुने लगायत विवादित बिषयमा प्रष्टीकरण समावेश हुनेछ।

के छ व्याख्यामा?

१. एमसीसीबारे नेपालले उठाउँदै आएका प्रश्न र एमसीसीले नेपाल सरकारलाई पेश गरेको जवाफ।

२. सन्धि ऎन अनुसार उक्त लेटर अफ एक्सचेञ्ज पनि सम्झौताको अङ्ग हुने प्रावधान।

३. नेपाल सरकारले भर्खरै पुनः गरेको पत्र व्यवहार।

४. यी सबै दस्तावेज एमसीसीका अङ्ग हुने गरि सरकारको तर्फबाट पुरक प्रस्ताव पेश हुने र पारित हुने।

५. यी सबै प्रक्रियाबाट पारित दस्तावेज अस्वीकार गरे नेपालको तर्फबाट एकतर्फी सम्झौता भङ्ग भएको घोषणा गर्न सक्ने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org