ताजा समाचार

होलीमा चेकिङ : मोटरसाइकल र स्कुटर चालक निगरानीमा

काठमाडौं । होलीको दिन बिहानैदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

होलीलाई मर्यादित र दुर्घटना रहित बनाउन भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न स्थानमा चेकिङ गरेको छ । ट्राफिक प्रहरीहरुले मोटरसाइकल र स्कुटर चालकलाई बढी निगरानी गरेको देखिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३०० ट्राफिक प्रहरीलाई खटाइएको र नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीहरुले सवारी चालकले मापसे गरे/नगरेको र गाडीका कागजपत्र बोके/नबोकेको जाँच गरिरहेका छन् ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन ट्राफिक व्यवस्थापनको योजना तयार गरी जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

आज बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउने र होलीको नाममा अभद्र व्यवहार गर्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गरिने प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org