ताजा समाचार

मंसिर ४ मा एकैचरण निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले मंसिर ४ गते  देशैभर एकैचरणमा निर्वाचन गर्ने गरी आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधीसभा र प्रदेशसभाको एकैचरणमा चुनाव गर्ने गरी सरकारले आज बसेको मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन मिति घोषणा गरेको हो

निर्वाचन मिति घोषणा अगाडी सत्तासिन दलहरुको गठबन्धनको बैठक बसेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ मा निर्वाचन घोषणा गर्ने विषयमा गठबन्धन दलहरुका वीचमा सहमति जुटाएको थियो । सोही सहमतिका आधारमा सरकारले विहिबार (आज) आम चुनावको मिति घोषणा गरेको हो ।

निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो । तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो ।

‘अब चुनाव कहिले हुने भन्ने अन्योल हटेको छ । मंसिर ४ को मिति घोषणा भएको छ’ सरकारका  एक मन्त्रीले भने,-‘अब दलहरुलाई चुनाव औपचारिक रुपमा नै लागेको छ ।’

निर्वाचन मिति घोषणासँगै सरकारले संसद भने विघटन गरेको छैन । संसद विघटन गर्ने प्रावधान संविधानमा नरहेको कारण चुनावको मिति घोषणा गर्दा पनि सरकारले संसद भने चुनावसम्मै राख्ने गरी संसद विघटनको घोषणा नगरेको हो । अब चुनावका उम्मेदवारहरुको उम्मेदवार मनोनयनका दिनसम्मै अहिलेको संसद भने कायमै रहने गरी चुनावको मिति घोषणा सरकारले गरेको छ ।

तर संसदको कार्यकाल चुनावसम्मै राख्ने र चुनावको मिति घोषणा गर्ने विषयमा सत्तारुढ दलले विपक्षी दलका नेताहरुसँग भने परामर्श गरेका थिएनन । एमालेले मंसिरमा चुनाव जसरी पनि गर्नुपर्ने र सरकार उक्त मितिमा चुनाव नगराउने षडायन्त्रका साथ अगाडी वढिरहेको आरोप लगाँउदैं आएको थियो । सोहीकारण पनि सरकारले प्रतिपक्षी दलसँग चुनावको मितिका बारेमा औपचारिक छलफल आवश्यक नठानेको सरकारका मन्त्रीहरुको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org