ताजा समाचार

सुनथराली विमानस्थन धावनमार्गमा कालोपत्रे गर्न सुरु

कालीकोट । निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्रेको काम सुरु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए । ३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरु गरिएको उनले जनाए ।

सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ –१ कोटवाडाका स्थानीय बलिराज विष्टको भनाइ छ । धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रुपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जनाए ।

विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वती/श्याम एन्ड शङ्कर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शङ्कर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि रु १३ करोड ८१ लाख निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org