ताजा समाचार

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

काठमाडौं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरेका छन् ।

राष्ट्रपतिले प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरेका हुन् । नेपाली सेनाले राष्ट्रपति पौडेललाई सलामी अर्पण गरेको थियो । सैनिक टुकडीले पञ्चेबाजा बजाएको थियो ।

तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ । विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेको थिए ।

नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ । आज सरकारले देशभर सार्वजनिक बिदा समेत दिएकाे  छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org