ताजा समाचार

गाजापट्टीको एक विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु

जेरुसलेम । गाजा पट्टीको एक विद्यालयमा भएको इजरायली हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको छ । धेरैजना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं विस्थापितलाई आश्रय दिइएको भवनमा गाजाको मध्य भागमा रहेका भवनमा इजरायलले हवाई हमला गरेको थियो । तर इजरायली रक्षा बल (आईडीएफ) ले भने यो भवनमा धेरै आतंकवादी रहेकाले आक्रमण गरेको बताएको छ ।

शिविरको एउटै घरमा १० जनाको र बाँकी छ जनाको अर्को भवनमा ज्यान गएको थियो । नुसेराट विद्यालयमा भएको एउटा आक्रमणको एउटा भिडियोमा वयस्क र बालबालिका धुलो र भग्नावशेषबाट उडेको धुवाँले भरिएको सडकमा चिच्याइरहेका थिए ।

बीबीसीका अनुसार भवनमा सात हजार जनाले शरण लिइरहेका थिए । एक जना महिलाले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार भवनमा आक्रमण हुँदा कुरान पढ्दै गरेका केही बालबालिकाको ज्यान गएको थियो ।

इजरायलले कुनै पनि चेतावनीबिना विद्यालय भवनमा आक्रमण गरेको यो चौथो पटक हो । हिजो मात्रै भएको एउटा अर्को आक्रमणमा पाँच जना स्थानीय पत्रकारको ज्यान गएको थियो । ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का अनुसार गएको अक्टोबर ७ को आक्रमणपछि गाजामा एक सय जनाभन्दा धेरै पत्रकारले ज्यान गुमाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org